ठूला दलले समानुपातिक उम्मेदवारहरुको उधारो बन्दसूची बुझाए

काठमाडौं । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र लगातय ठूला दलले समानुपातिक उम्मेदवारहरुको ‘उधारो बन्दसूची’ बुझाएका छन् । आन्तरिक दलीय भागवण्डा मिलाउन नसकेका तीनवटै पार्टीले तिहारपछि अर्को संशोधित सूची बुझाउने गरी आइतबार आयोगमा बन्दसूचीको पत्र बुझाएका हुन् ।

थथार्थवादी, लोहियावादी जस्ता पहिले खासै नाम नसुनेका पार्टीहरु बाहेक ठूला पार्टीका नेता कार्यकर्ता बेलुकासम्म आयोगमा पुगेनन् ।
आयोगले दिएको ५ बजेको समयसीमा सकिनै लाग्दा माओवादी र एमालेका नेताहरु पत्र बोकेर आयोगमा पुगेथिए । काग्रेसका नेताचाँहि साँझसम्म बालुवाटारमा समानुपातिक उम्मेदवारको सूचीबारे छलफल गरिरहेका थिए । उनीहरु विजय गच्छदारको पार्टीलाई समेत मिलाएर एकैसाथ बन्दसूची बुझाउने प्रयासमा छन् ।

 

माओवादी केन्द्रका नेताले भने( हाम्रो कार्यालयका तर्फबाट प्रल्हाद बूढाथोकी ५ बजे नै बन्दसूची बुझाउन निर्वाचन आयोग गइसक्नुभएको छ ।

कांग्रेसका नेताले भने फोरम लोकतान्त्रिकलाई समेत मिलाउने प्रयासमा लाग्दा ढिलाइ भएको बताए । कांग्रेस नेताका अनुसार निर्वाचन आयोगमा टोकन लिइसकेका कारण राति ७ बजेसम्ममा सूची बुझाउन सकिने छ । अहिले बालुवाटारमा कांग्रेस र फोरम लोकतान्त्रिकको साझा सूची तयार पार्ने काम भइरहेको छ ।

 

निर्वाचन आयोगमा दलहरुले बुझाएको बन्दसूची तिहारपछि हेरफेर गरेर अर्को पठाइने नेताहरुले बताएका छन् । त्यसैले आज बन्दसूचीमा परेका नेताहरुको नाम एकसाताभित्र काँटछाँट हुने वा हट्ने सम्भावना छ ।

निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म दलहरुले समानुपातिकको बन्दसूची सच्याउन पाउने छन् ।

सच्याइएको बन्दसूची दलहरुले कात्तिक ६ गतेदेखि १२ गतेभित्रमा निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

त्यसरी १२ गतेभित्र बुझाइएको बन्दसूची पनि अन्तिम हुनेछैन । किनभने कात्तिक १३ गते सूचीमा भएका व्यक्तिले नाम फिर्ता लिन सक्नेछन् भने त्यसरी फिर्ता लिएपछि रिक्त हुने सूचीमा अर्को व्यक्तिको नाम कात्तिक १४ र १५ गतेभित्र थप्ने अधिकार दलहरुलाई निर्वाचन आयोगले दिएको छ ।

यसरी बुझाइएको बन्दसूची निर्वाचन आयोगले कात्तिक १७ गते सार्वजनिक गर्नेछ ।

कात्तिक १७ गते सार्वजनिक गरिएको नाममा कसैले दाबी विरोध गर्न सक्नेछन् । दाबी विरोधका लागि कात्तिक १८ देखि २४ गतेसम्म तोकिएको छ । कात्तिक २५ देखि मंसिर १ गतेसम्म आयोगले दाबी विरोधमाथि छानविन गर्नेछ । र, नाम हटेको सूचना मंसिर २ गते प्रकाशित गरिनेछ ।

 

यति सबै प्रक्रिया पूरा गरिसकेपछि बल्ल मंसिर ३ गते निर्वाचन आयोगले समानुपातिक उम्मदेवारहरुको बन्दसूचीको अन्तिम नामावली प्रकाशित गर्ने छ ।

त्यसरी प्रकाशित भएको नामावलीमा भने दलहरुले कुनै चलखेल गर्न पाउने छैनन् । किनभने नयाँ निर्वाचन कानून अनुसार बन्दसूचीमा माथिल्लो लहरमा भएको व्यक्तिलाई नै समानुपातिक सांसद बनाउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

विगतमा भने दलहरुले सूचीको पुछारमा रहेका व्यक्तिलाई समेत सांसद बनाउन पाउने खुकुलो प्रावधान थियो ।

३३० जनाको भाग्य दलको खल्तीमा

संविधान एवं निर्वाचन कानूनअनुसार निर्वाचन आयोगमा समानुपातिक तर्फका ३३० उम्मेदवारहरुको भाग्यको फैसला हुनेछ ।

प्रतिनिधिसभाका लागि ११० जना र प्रदेश सभाका लागि २२० जनाको बेग्लाबेग्लै बन्दसूची दलहरुले बुझाउन पाउनेछन् ।

तर, साना दलहरुले कम्तिमा १० जना वा सोभन्दा बढीको नाम बुझाउन पाउनेछन् । साना पार्टीले थोरै नाम मात्रै बुझाए पनि कांग्रेस, एमाले र माओवादी लगायतका दलले ३३० जनाकै नाम बुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्