आर्थिक सहायताका नाममा सरकारले बाँड्यो साढे ५ करोड, पूर्व राष्ट्रपतिदेखि भुटानी शरणार्थीसम्मले पाए
काठमाडौं, फागुन १५ । चालू आर्थिक वर्षको सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री लगायत लाई साढे ५ करोड रुपैयाँ बाडेको पाइएको छ ।
गत साउनदेखि माघ मसान्तसम्म सरकारले १३९ जनालाई आर्थिक सहायता स्वरुप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको हो ।
सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक सहायता पूर्वराष्ट्रपति रामवरण यादवलाई दिईएको छ ।
२०७९ को कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार पूर्व राष्ट्रपति डा यादवलाई औषधि उपचार खर्च बापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको उल्लेख छ ।
त्यस्तै मंसिरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई २० लाख रुपैयाँ दिईएको छ । भदौ ३१ गते तथा असोज ७ गतेको निर्णय अनुसार उक्त रकम वितरण गरिएको उल्लेख भएतापनि खनाललाई कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको उल्लेख गरिएको छैन् ।
यस्तै, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरणमा गरी २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराईएको छ ।
अर्थले सार्वजनिक गरेको आर्थिक सहायता वितरणको तथ्यांक अनुसार सबैभन्दा धेरै रकम भदौ महिनामा वितरण गरिएको छ । भदौ महिनामा मात्रै ३१ जनालाई १ करोड ४१ लाख ७७ हजार रुपैयाँ वितरण गरिएको छ ।
यस्तैगरी, साउन महिनामा मन्त्रालयले १९ जनालाई ९५ लाख, असोज महिनामा १ जनालाई २५ लाख रुपैयाँ र कात्तिक महिनामा ७ जनालाई ४४ लाख रुपैयाँ वितरण गरिएको छ ।
यस्तैगरी, मंसिर महिनामा ५८ जनालाई १ करोड ३० लाख ८४ हजार रुपैयाँ, पुस महिनामा २१ जनालाई ८८ लाख ७२ हजार रुपैयाँ र माघ महिनामा २ जनालाई २४ लाख रुपैयाँ आर्थिक सहायत मार्फत वितरण गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्