देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन १४ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।
एक/दुई दिन मौसम यस्तै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्षको हिउँद सकिने क्रममा छ ।
सामान्यतया नेपालमा मंसिर मध्यदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद मानिन्छ । अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद् अधिकारीले बताउनुभयो ।
प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ्ग पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना धेरै हुनेगर्छ ।
प्रतिक्रिया दिनुहोस्