लघुवित्तहरुको अनियन्त्रित ऋण प्रवाहमा राष्ट्र बैंकको कडाइ

काठमाडौं, फागुन ११ ।  नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको कर्जा प्रवाहमा कडाइ गरेको छ ।

राष्ट्र बैंकले बुधबार लघुवित्तहरुलाई आठ बूँदे निर्देशन जारी गर्दै लघुवित्तको ऋण प्रवाह तथा लाभांशमा कडाई गरेको हो ।

राष्ट्र बैंको नयाँ निर्देशन अनुसार अब कुनै बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण लिन पाउने छैनन् भने एकभन्दा बढी लघुवित्त कम्पनीबाट ऋण लिन पनि नपाउने व्यवस्था गरिएको छ ।

बिना धितो सामूहिक जमानीमा वा धितो सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्र वित्तीय संस्थाले कर्जा सीमा ननाघ्ने गरी प्रवाह गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तै, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।

लघुवित्तबाट ऋण लिन ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको स्वघोषणा गर्नु पर्नेछ । तर, यो निर्देशिका जारी हुनुअघि प्रवाह भइसकेको कर्जाको हकमा भने साविक बमोजिमको किस्ता भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, लघुवित्त कम्पनीका लगानीकर्ताहरुलाई वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा शर्त लागू गरिने भएको छ । १५ प्रतिशत भन्दा माथिको लाभांशमा जति लाभांश वितरण गर्ने हो त्यसको ५० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने ब्यवस्था गरिएको छ ।

उक्त ५० प्रतिशत रकम मध्ये ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र बाँकी १५ प्रतिशत साधारण जगेडामा राख्नुपर्नेछ । यस्तै, १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गर्दा १० प्रतिशत बराबर हुने रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनु पर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्