मौसम विभाग भन्छ, अझै केहीदिन पानी पर्न सक्छ, वर्षाले घर भत्किँदा पाँचजना घाइते

काठमाडौ  । पश्चिमी वायुको प्रभावले देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहने विभागले जनाएको छ । यसैबिच २ दिनदेखिको निरन्तरको वर्र्षाले काठमाडौ उपत्यका लगायतका अन्य जिल्लामा जाडो बढेको छ । मध्य र पश्चिम तराई क्षेत्रमा बढी वर्षा हुँदा न्यूनतम तापक्रममा समेत सुधार आएर जाडो बढेको विभागको भनाई छ ।

यो वर्ष मनसुन सुरु नहुँदै काठमाडौंमा बुधबार ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । ‘प्री’ मनसुनी प्रणाली सक्रिय हुँदा मंगलबारदेखि सुरु भएको मनसुनी वर्षा तीन दिनसम्म रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया जेठ २७ मा मनसुन नेपाल प्रवेश गर्ने गर्छ। असोज ७ गतेदेखि मनसुन नेपालबाट बाहिरिने गरेको छ ।
अविरल वर्षाले घर भत्किँदा पाँच घाइते
दुई दिनदेखि परेको वर्षाका कारण गएराति भक्तपुर सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया सरदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्