सिन्डिकेट लाद्ने व्यवसायीलाई झट्का, सरकारद्वारा इच्छुकलाई काठमाडौं– धुलिखेल रुट परमिट लिन आउन आह्वान

काठमाडौं । सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले इजाजत लिन आउन आह्वान गरेको हो ।

यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबारनै सबै प्रक्रिया पुरा गरेर रुट दिने व्यवस्था गरेको छ ।

मयुर यातायातले काठमाडौं–बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ ।

काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलार्इ यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ ।

यही समस्यालार्इ ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलार्इ पनि रूट इजाजत दिने निर्णय गरेको हो ।

‘जो आएपनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो,’ विभागका महानिर्देशक रुपनारायाण भट्टराईले भने,’ धुलिखेलसम्म बस चलाउन चाहानेले आजै इजाजत पाउँछन् । सरकारले सो रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’

भट्टराईले सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताए । अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्