२३ किलो चरेशसहित विमानस्थलबाट दुई नेपाली र चार थाइ नागरिक पक्राउ

काठमाडौँ , फागुन २ ।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ब्युरोले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिबन्धित लागूऔषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेटसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं महानगर–१६ स्थित दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागूऔषध र ४ लाख १७ हजार नगद बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोले त्रिभुवन विमानस्थलबाट थाई एयरलाइन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरिएको ब्युरोका प्रमुख खनालले बताए ।

त्यस्तै ब्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ । १२ ग्राम खैरो हिरोइनसहित कोटेश्वरबाट एक जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्