मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन

काठमाडौं, माघ २६ ।  केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।

उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको छ। तर, पानी पार्ने गरी पश्चिमी वायु सक्रिय भएको छैन।

काठमाडौं उपत्यकासहित तराईका धेरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ। मौसमविद्का अनुसार काठमाडौंमा हुस्सु बिस्तारै हट्दै गए पनि दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने छ। तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ।

पश्चिम तराईको तुलनामा मध्य र पूर्वी तराईमा बाक्लो हुस्सु लाग्ने मौसमविद्ले बताएका छन्। आज र भोलि काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ।

यस्तै, हिमाली केही जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही दिनदेखि देशभरजसो नै चिसो हावा चल्न थालेको छ। तर, तत्काललाई पानी भने नपर्ने मौसमविद् नगरकोटीले बताए।

प्रतिक्रिया दिनुहोस्