शाली नदी मेलामा एक करोड सहयोग संकलन

काठमाडौं, माघ २३ । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार रुपैयाँ सहयोग संकलन भएको छ।

गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोगस्वरूप संकलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।

गत वर्ष कोरोनाका कारण भक्तजनका संख्या कम हुँदा सहयोग रकम कम संकलन भएको थियो। यस वर्ष भक्तजनका संख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी संकलन भएको श्रेष्ठले भनाइ थियो।

उनका अनुसार संकलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ। मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ।

एक महिनासम्म चलेको उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्