श्वेतपत्रले बढाएन लगानीकर्ताको मनोबल,नेप्से र कारोबार दुवैमा गिरावट
काठमाडौं । पछिल्ला केही साता यता सेयरबजारमा देखिएको तिब्र उतारचढाब यो साताको पहिलो दिन आइतबार पनि कायमै रह्यो । सरकारले जारी गरेको श्वेतपत्रले समेत लगानीकर्ताको मनोबल बढाउन नसक्दा बजारमा अस्थिरता कायमै रह्यो भने नेप्से सूचक र कारोबार दुवैमा गिरावट आएको छ ।
सरकारले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएको थियो । तर संस्थागत र नीतिगत सुधार गर्ने श्वतेपत्रको प्रतिवद्धतालाई लगानीकर्ताले अंगिकार गरेको पाइएन । फलस्वरुप आइतबारको बजारमा पनि २४ अंकको गिरावट आएको छ ।
अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधारको कुरा गरेपनि नेपालको पुँजीबजार सतही भएको र दायरा पनि संकुचित भएको उल्लेख गरेका थिए । उनले बजार धितोपत्र कारोबारमा मात्र सिमित रहेको र यसलाई ऋण बजारको रुपमा विकास नसकिएको बताएका थिए ।
पछिल्ला केही साता यता बजारले आफ्नो स्वभाविक लय गुमाएको छ । बजारलाई प्रत्यक्ष प्रभावित खाल्ने कुनै कार्यक्रम नरहेपनि अड्कलबाजी र प्रचारबाजीले बजारमा उच्च वृद्धि तथा उच्च गिरावट देखिएको छ ।
श्वेतपत्र सार्वजनिक हुनु अगाडि श्वेतपत्रको हबला दिदै बजारमा अस्वभाविक उतारचढाब देखियो भने श्वेतपत्र सार्वजनिक भएपछि खुलेको बजारले समेत लगानीकर्ताको मनोबल बढाउन सकेन । पछिल्ला दिनहरुको सेयरबजारको घटाई बढाईलाई विश्लेषकहरुले श्वेतपत्रसँग जोडेर विश्लेषण गर्ने गरेका छन् ।
श्वतेपत्रको सकारात्मक र नकारात्मक टिप्पणी गर्नेहरुको कुनै कमी छैन । विश्लेषक, अर्थशास्त्री लगायत सेयरबजारका चर्चित टिप्पणीकार समेत पक्ष र विपक्षमा वकालत गर्न थालेपछि लगानीकर्ताहरु झनै रणभुल्लमा परेका छन् । जसका कारण सेयर खरिदबिक्रीको क्रम घटेको छ ।
आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से झण्डै ३४ अंक तलसम्म झरेको थियो । तर बिचमा केही समालिन खोजेपनि बजार बन्द हुने समयसम्म आइपुग्दा २४ अंकले घटेर ११९६.२४ अंकमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्