पाँच महिनामा भित्रिए १२ हजार विद्युतीय सवारी साधन

काठमाडौं, पुस १८ ।  नेपालमा चालू आर्थिक वर्षको पाँच महिने अवधिमा १२ हजार २८४ विभिन्न विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ।

गत साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार ५ अर्ब ५८ करोड ६४ लाख मूल्यका ठूला बसदेखि साइकलसम्मका विद्युतीय सवारीसाधन आयात भएका हुन्।

सरकारले गत वैशाखदेखि पेट्रोलियमका चारपांग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो। चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो।

विभागका अनुसार सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल रहेका छन्।

विद्युतीय सवारीमा सबैभन्दा धेरै दुई पांग्र्रेकै आयात उच्च देखिएको छ। ५४ करोड ८४ लाख रुपैयाँ बराबर मूल्यका ४ हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन्। यस्तै, विद्युतीय मोटरजडित २ हजार ४९० थान साइकल पनि सोही अवधिमा आयात भएको विभागको तथ्यांकले देखाएको छ।

पाँच महिने अवधिमा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा प्रयोग हुने तीनपांग्र्रे सवारीसाधन ३ हजार ८२७ थान आयात भएको छ। यही अवधिमा विद्युतीय कार तथा जिप १ हजार ३५३ थान आयात भएको विभागले बताएको छ।

सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले १०० किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन १ हजार ३२० थान छन्। १ देखि २०० किलोवाट क्षमताका ३० थान कार आयात भएका छन्।

तथ्यांकअनुसार मंसिरसम्म ठूला ३७ वटा विद्युतीय बस र ७८ वटा विद्युतीय माइक्रो बस आयात भएका छन्।

प्रतिक्रिया दिनुहोस्