धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढ्याे : चामल आयात घट्यो

काठमाडौं , पुस १८ ।   अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।

नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मेट्रिक टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८/८९ मा धान/चामल/कनिकाको आयात भने करिब चार अर्ब अर्थात् ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।

आव २०७८/७९ को पाँच महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८ दशमलव २ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ । यसैबीच, मन्त्रालयको तथ्याङ्कअनुसार,देशमा चैते र वर्षे गरी १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन र उत्पादकत्व ३ दशमलव ७९ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

गएकाे आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आवमा धानको समग्र क्षेत्रफलमा दुई प्रतिशतले कमी आएको देखिएको छ भने उत्पादनमा ६ दशमलव ९४ प्रतिशतको वृद्धि भएको छ । समग्र नेपालको, प्रदेशगत र जिल्लागत चैते धान र वर्षे सिजनको धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको गरिएको विवरण सार्वजनिकमा तथ्याङ्क देखाइएको छ । नेपालमा धानका अत्यन्त लोकप्रिय जात हर्दिनाथ, खुमल, राधा, स्वर्ण सव हुन् ।

धानमा आत्मनिर्भरताका लागि सरकारले पालिका र प्रदेशको समन्वयमा मन्त्रालयले उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मसिना तथा बासनादार, चैते र जातीय धान विकास अनुसन्धान कार्यक्रम तथा न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने व्यवस्थालाई प्रभावकारीरुपमा अघि बढाइएको मन्त्रालयको दाबी छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सहकारीमार्फत् तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदको व्यवस्था गरिएको छ । सरकारले त्यसबापत सहकारीलाई प्रतिक्विण्टल एक सय १२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउँदैआएको छ । अहिलेसम्म सूचीकृत सहकारीबाट करिब ९० हजार मेट्रिक टन धान खरिदका लागि आशय प्राप्त भएकाे पाइएकाे छ ।

प्रदेशगतरुपमा गएकाे आर्थिक वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको तथ्याङ्कले देखाएको छ । गएकाे वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ठूलो क्षति भएको थियो ।

यस वर्ष लुम्बिनी प्रदेशमा १५ दशमलव २ प्रतिशत, प्रदेश १ मा ५ दशमलव ७२ प्रतिशत र कर्णालीमा ३ दशमलव ४६ प्रतिशत र मधेस प्रदेशमा ० दशमलव १८ प्रतिशत उत्पादन वृद्धि भएको छ भने बाग्मती र गण्डकी प्रदेशमा गएकाे वर्षको तुलनामा क्रमशः १ दशमलव ४५ र ३ दशमलव ७४ प्रतिशत उत्पादन कमी भएको देखिन्छ ।

तराईका जिल्लामा रासायनिक मलको उपलब्धता, उन्नत बीउको प्रयोगमा वृद्धि र पालिकासम्म कृषि प्राविधिको पहुँचले धान उत्पादनमा यस वर्ष सामान्य वृद्धि भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्