आयल निगम र खाद्यसंस्थानका ४५० भन्दा बढि कर्मचारी हटाउने आपूर्ति मन्त्रालयको तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभिन्न राजनीतिक आडमा भर्ना गरिएका ज्यालादारी र करार साढे चार सय भन्दा बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् ।
नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् ।

मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई सय ३३ जना कर्मचारी हटाउन निर्देशन दिइएको छ भने आयल निगममा दुई सय १५ कर्मचारी हटाउन निर्देशन दिइएको छ ।

 

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशिल भट्टराईले मन्त्रालयको निर्देशनपछि भर्ना गरिएका कर्मचारी हटाउने प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार खासगरी संस्थानका विभिन्न इन्धन डिपोहरूमा र सामान्य कामदारका रुपमा आवश्यकता हेरेर लामो समयदेखि कर्मचारी भर्ना गरिएका छन् । ‘अब ती कर्मचारीहरूलाई हटाउने तयारी गरेका छौं,’ उनले भने ।

खाद्य संस्थानमा तोकादेशका आधारमा जथाभावी कर्मचारी भर्ना गरेको आवश्यक क्षमता, योग्यता र अनुभव भन्दा पनि शक्तिको आडमा उच्च पदस्थ अधिकारीको तोकादेशका भरमा मनमौजी ढंगले विभिन्न संस्थानहरूमा कर्मचारी भर्ति गरिँदै आएको छ ।

खाद्य संस्थानका महाप्रबन्धक कुमार दाहालले मन्त्रालयको निर्देशनपछि संस्थानका विभिन्न डिपोहरूमा अस्थायी ढंगले भर्ना गरिएका ज्यालादारी कर्मचारी हटाइएको जानकारी दिए ।
यससगै मुलुकमा अन्य राष्ट्रिय अनुसन्धान विभाग र अन्य विभागहरुमा राजनीतिक आडको भरमा नियुक्त गरिएका सबै कर्मचारीलाई हटाई प्रक्रियागत ढंगले नियुत्तिल गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्