कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने !

काठमाडौं, पुस ४ ।  नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान चुनाव हुने भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो । त्यसबारे तयारी अघि बढाउन सोमबार बिहानै निर्वाचन समितिको बैठक बसेको थियो ।

समितिकी सदस्य पुष्पा भुसालले संसदीय दलको नेताको चुनाव बुधबार बिहान ८ देखि गर्ने गरी तयारी भइरहेको जानकारी दिएकी छन् । ‘कार्यसम्पादन समितिको निर्णय बमोजिम हामी जतिसक्दो छिटो निर्वाचन सम्पन्न गरेर दलको नेता चयन गर्ने गरी छलफल थालेका छौं । बुधबार बिहान चुनाव गर्ने तयारी भइरहेको छ,’ उनले भनिन् ।

कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेको र संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँड गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो ।

संसदीय दलको विधान बमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनु पर्छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् भने नेता शेखर कोइराला पनि दलको चुनाव लड्न दबाबमा छन् । तर कोइरालाले उम्मेदवारीबारे अहिले बोलिसकेका छैनन् । संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ८९ सांसद मतदाता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्