गुणस्तरयुक्त निर्माणमा जुट्न व्यवसायीलाई मन्त्री चौधरीको आग्रह
काठमाडौं , मंसिर २२ । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणका क्षेत्र चुनौती सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
आज १५ औं निर्माण दिवसका अवसरमा निर्माण व्यवसायी महासंघले काठमाडौंमा गरेको प्रभातफेरिमा उनले भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको गुनासो गरेका हुन् ।
मन्त्री चौधरीले सरकार र निर्माण व्यवसायीहरुको सहकार्यबिना ठूला भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताए ।
मन्त्री चौधरीले ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीहरुले यसमा ध्यान दिन जरुरी रहेको बतए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोरोना भाइरस, रुस—युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री अभावले निर्माण व्यवसाय संकटमा रहेको बताए ।
अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन अनुसार २० प्रतिशत पेस्की रकम दिने प्रावधानलाई कडाईका साथ लागू गर्न माग गरे ।
विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार मुलुकले खोजेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्