प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार, ओलीको चुनाव खर्च १८ लाख ८२ हजार
काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।
निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।
दाहालको उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत निर्वाचन खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिए । सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।
मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने प्रावधान छ । दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो । गोरखामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये ४९ मध्ये १९ जनाले बुधबारसम्म खर्च विवरण बुझाएका छन् ।
ओलीको चुनाव खर्च १८ लाख ८२ हजार
झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय झापामा चुनावी खर्च विवरण बुझाउन थालेका छन् ।झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवारमध्ये बुधवार दिउँसोसम्म ७३ जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिएका छन् । जसमा ४० जना प्रतिनिधिसभा र ३३ जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवार छ ।
जिल्लाबाट निर्वाचित पाँच जना प्रतिनिधिसभा र १० जना प्रदेशसभा सदस्यमध्ये हालसम्म तीन जनाले मात्र चुनावी खर्च विवरण बुझाइसकेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिमार्फत मंगलवार चुनावी खर्च विवरण बुझाएका हुन् ।
ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। त्यस्तै झापा ५ (२)बाट प्रदेश सांसदमा एमालेबाट निर्वाचित होमबहादुर थापा र झापा १ (२) बाट प्रदेश सांसदमा राप्रपाबाट निर्वाचित सबिना बजगाईंले चुनावी खर्च विवरण बुझाएका छन् ।
थापाले १२ लाख १८ हजार ९३० र बजगाईंले ६ लाख ४८ हजार ५९० रुपैयाँ ३७ पैसा चुनावी खर्च बुझाएको उनले बताए । झापा १ (२) मा १५ लाख र ५ (२)मा १७ लाख चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ । सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्