कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकियो

काठमाण्डौ , मंसिर १२  । कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो पुस ४ गतेदेखि ८ गते अर्थात् १९ डिसेम्बर देखि २३ डिसेम्बर भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन अनलाइनबाट मात्र दिन सकिन्छ । आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई भर्न सकिन्छ । आवेदन भर्ने तरिका पनि यही पेजमा गएर हेर्न सकिन्छ ।

कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुने छ भने दोस्रो चरणको परीक्षा फागुन ८ गतेदेखि फागुन २६ गतेसम्म हुनेछ ।

सबै परीक्षाहरू काठमाण्डौमा नै सञ्चालन हुने छ । एक दिनमा ४ सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । तर आवेदकको सङ्ख्या र अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल पनि हुन सक्ने छ ।

यस्तै भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको पहिलो चरणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म हुने छ भने दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि ३ गतेसम्म हुनेछ ।

भाषा परीक्षामा प्राप्त गरेको अङ्कको आधारमा अधिकतम अङ्क प्राप्त गर्ने मध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी पास भएका करिब ६ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि शाखाले जनाएको छ । तर कोरियाको मागको आधारमा उत्तीर्णको सङ्ख्यामा थपघट पनि हुन सक्ने छ । भाषा र सीप परीक्षण दुवैमा पास भएकाहरुले मात्र कोरियाको रोजगार आवेदन फारम भर्न पाउने छन् ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ भने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नभएको हुनुपर्छ । थप जानकारी ईपीएस कोरिया शाखाको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

यसअघि नै पनि कोरिया गएर गैह्र कानुनी गतिविधिमा संलग्न भएर वा गैह्र कानुनी रूपमा कोरियामा बसेर फर्किएको भएमा आवेदन फारम भर्न पाइने छैन । कोरियामा ई ९ र ई १० भिसामा पाँच वर्ष भन्दा कम अवधि बसेको भएमा भने फारम भर्न मिल्छ ।

परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने छ । आवेदकले फारम दर्ता गराउने दिन वा त्यसको अघिल्लो दिन २८ डलर बराबर नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैङ्कको जुनसुकै शाखा र आइएमई पे, फोन पे, ई सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत तिर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्