काठमाडौंको फर्पिङमा बस दुर्घटना : दुईजनाको मृत्यु, ३५ बढी घाइते

काठमाडौं । काठमाडौंको फर्पिङमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। बस दक्षिणकाली नगरपालिकाबाट काठमाडौं आउँदै गरेको थियो।

दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित भन्ज्याङमा फर्पिङ बस सेवा समितिको बा २ ख ९९९९ नम्बरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिए।

दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। ती मध्ये ४ जना जना गम्भीर घाइते भएका छन्। एकजनाको स्थिति चिन्ताजनक छ। दुर्घटनामा परेकाहरू अधिकांश दक्षिणकाली नगरपालिकाका बासिन्दा छन्। कतिपय दक्षिणकाली मन्दिर दर्शन गरेर फर्कनेहरू पनि छन्।

घाइतेहरूको मनमोहन सामुदायिक अस्पताल, बयोधा अस्पताल, स्टार अस्पताल र ट्रमा सेन्टरमा उपचारका लागि लगिएको नगर प्रमुख बस्नेतले जानकारी दिए। २० जनाको मनमोहन सामुदायिक अस्ताल फर्पिङमा उपचार भइरहेको छ। चार जनालाई वयोधा लगिएको छ।

ुबस सडकमै पल्टिएको रहेछ। दुर्घटना नै नहुने खालको सडकमा बस के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान हुँदैछु, उनले भने।

घाइतेहरू मध्ये ३० जना उपचारपछि एक दुई घण्टामा घर फर्किन सक्ने स्थितिमा रहेको चिकित्सकले बताएको बस्नेतले जानकरी दिए।

प्रतिक्रिया दिनुहोस्