स्थानीय तहको कर्मचारी दरबन्दी स्वीकृत, यस्तो छ हालको संख्या र कायम गरिएको दरबन्दी

काठमाडौं । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ७ सय ५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३ सय ५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ। सोअनुसार केन्द्रमा रहँदै आएको ३ हजार २ सय ६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी २ हजार ६ सय ५४ कायम गरिएको छ। केन्द्रमा रहने मन्त्रालयमा रहेका कर्मचारीको हालको संख्या र कायम गरिएको दरबन्दी यस्तो छ:

सरकारले स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जनाए। सरकारले स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानुन बनाएर पठाउने निर्णय पनि गरेको छ।

बैठकले आर्थिक तथा सामाजिक कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउने ६८ करोड ६० लाख रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्यान्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ। सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्