शोधानान्तर स्थिति अहिले नाफामा: अर्थतन्त्र सुधारोन्मुख, विदेशी मुद्रा सञ्चिति पनि बढ्यो

काठमाडौं, कार्तिक ३० । अघिल्लो आवदेखि लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा पहिलोपटक सकारात्मक देखिएको छ । गत आवको शुरुदेखि नै चालु आवको दोस्रो महिनासम्म पनि नकारात्मक रहेको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा १२ अर्ब ४३ करोडले बचतमा गएको छ ।

शोधनान्तर स्थिति भनेको नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको वास्तविक तथ्यांक हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा रेमिट्यान्स रकम केही बढी आएको एवम् सरकारले विगत केही महिनादेखि सवारीसाधन, मदिरा, मोबाइललगायतका केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको हो ।

साधारणतया दशैं तिहारजस्ता ठूला चाडपर्वको अवसरमा देशमा सामान्य भन्दा १०–१५ प्रतिशत बढी रेमिट्यान्स भित्रिने गर्दछ भने पछिल्लो समय नेपाली मुद्रासँग डलरको अधिमूल्यन भइरहेकाले पनि रेमिटेयान्स पठाउनेहरु बढी भन्दा बढी आकर्षित भएको हो ।

चालु आवको श्रावणमा २२ अर्ब ६३ करोड र भदाैंमा २३ अर्ब ६८ करोड रुपैयाँ शोधनान्तर घाटा नकारात्मक रहेको थियो । असोज महिनासम्म भने अघिल्लो वर्षको असोज महिनासम्मको तुलनामा १६.८ प्रतिशतले रेमिट्यान्स वृद्धि भइ २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको कारण शोधनान्तर घाटा नकारात्मक हुनबाट जोगिएको राष्ट्र बैंकले जनाएको छ ।

चार वस्तुको आयात प्रतिबन्ध कायमै रहेको बेला असोज महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स रकममा वृद्धि एवम् आयातमा समेत १६.२ प्रतिशतले संकुचन आउँदा यसको सकारात्मक असर विदेशी मुद्रा सञ्चितिमा समेत परेको छ । चालु आवको साउन महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ३५ करोड रहेकोमा असोजमा बढेर १३ अर्बले बढेर ९ अर्ब ४८ करोड डलर पुगेको छ ।

आयातको १६.२ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत ३५.७ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा १३.१ प्रतिशतले खुम्चेर ३ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर हरेक दिन बलियो हुँदै जाँदा चालु आवको पहिलो महिनामा रेमिट्यान्स पनि बढेको देखिएको छ । देशमा साउनमा ९२ अर्ब २१ करोड, भदाैंमा ९४ अर्ब २१ करोड र असोजमा पनि ९४ अर्ब १ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज महिनाको रेमिट्यान्सको वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको भन्दा १६.८ प्रतिशतले बढी हो ।

असोज महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट ११ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर २६ अर्ब ४ करोड खर्च गर्ने गरेका छन् । नेपालको खुद सेवा आय २१ अर्ब ७० करोडले घाटामा रहेको छ ।

असोजमा आयात व्यापारमा कमी आएर खुद व्यापार घाटामा कमी आउनु एवम् रेमिट्यान्स आप्रवाहमा समेत केही सुधार देखिदा देशको शोधनान्तर स्थिति नाफामा गएको छ । आयातमा व्यापक नियन्त्रण गर्दा शोधनान्तर स्थिति थोरै नाफामा देखिनु एवम् वैदेशिक मुद्रा सञ्चिति केही बढ्नुले देशको अर्थतन्त्र खराब अवस्थाबाट विस्तारै सुधारोन्मुख रहेको जनाउ दिन्छ । देशले अहिलेको तरलता संकटको समयमा विदेशबाट धेरै भन्दा धेरै लगानी भित्रयाउनु पर्नेमा चालु आवको एक त्रैमासिकमा जम्मा ८ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ ।

सरकारले धेरै आयात हुने मोबाइल, सवारी साधनलाई रोकेर शोधनान्तर अवस्था सकारात्मक देखाए पनि आगामी दिनमा बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउने र बढी भन्दा बढी वस्तु निर्यात गर्न सकेमा भने आगामी दिनमा नेपाली अर्थतन्त्र द्रुत गतिमा अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालबाट बाहिरिने कुल रकम र नेपाल भित्रिने कुल रकमको आधारमा नेपाल नाफाको स्थितिमा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्