टी २० विश्वकप: फाइनलमा आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दै
काठमाडौं, कार्तिक २७ । अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत आइतबार फाइनल खेलमा पाकिस्तान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ।
मेलवर्नस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। आइतबारको खेलमा जित हात पार्ने टोलीले दोस्रापटक टी२० विश्वकप क्रिकेटको उपाधि जित्नेछ। यसअघि पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले सन् २०१० मा टी२० विश्वकपको उपाधि जितिसकेका छन्।
यसपटककको विश्वकपमा दुवै टोलीले महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गरेका थिए। त्यसैले फाइनल खेल कसको पक्षमा जाला भन्ने आकलन गर्न कठिन हुने देखिएको छ। इंग्ल्याण्डले ब्याटिङमा आफूलाई अब्बल साबित गरेको छ भने पाकिस्तानले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ। त्यसैले आइतबारको खेल ब्याटिङ भर्सेस बलिङको हुन सक्छ।
आक्रामक ब्याटिङ प्रदर्शन गर्दै आएको इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध १७९ रनको योगफल तयार पारेको थियो भने सेमिफाइनलमा सनसनीपूर्ण ब्याटिङ गर्दै १६ ओभरमा नै १७० रन बनाएको थियो।
पाकिस्तानले पनि आक्रामक बलिङ प्रस्तुत गर्दै आएको छ। पाकिस्तानका मुख्य बलर शाहिन शाह अफ्रिदी र लेग स्पिनर शहाब खानले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै आएका छन्।
जारी विश्वकपमा कुनै पनि टोलीले पाकिस्तानविरुद्ध १६० भन्दा धेरै रन बनाउन सकेका छैनन्। यसबाट पनि पाकिस्तानको बलिङ आक्रमणबारे अनुमान गर्न सकिन्छ।
पाकिस्तानका यी दुवै बलरले समान १० विकेट लिएका छन्। ह्यारिस रउफले ६ तथा मोहम्मद वासिमले सात विकेट लिएका छन्। नासीम शाहले पनि ६ विकेट लिएका छन्। त्यसैले पनि आइतबारको खेलमा इंग्ल्याण्डको लागि पाकिस्तानको बलिङ टाउको दुखाइ बन्न सक्छ।
इंग्ल्याण्डको ब्याटिङमा पनि ओपरद्वय एलेक्स हल्स र जोस बटलर उत्कृष्ट लयमा छन्। यी दुई ब्याटरलाई आउट गर्नु आइतबारको खेलमा पाकिस्तानको चुनौती हुनेछ।
प्रतिक्रिया दिनुहोस्