लक्ष्मीपूजाको दिन ३८० मेगावाट विद्युत भारत निर्यात
काठमाडौं, कार्तिक ८ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार लक्ष्मी पुजाको दिन भारतलाई ३८० मेगावाट विजुली निर्यात गरिएको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।
त्यस्तै तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको हो ।
नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६: १० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ ।
प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।
प्रतिक्रिया दिनुहोस्