नबिल फोनलोन मार्फत् अब बिना धितो रु. २ लाखसम्म कर्जा लिन पाउने
काठमाडौं, कार्तिक ४ । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।
यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।
अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।
यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधासमेत उपलब्ध हुने भएको छ ।
ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’ को विकल्प रोज्न सक्छन् ।
आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ ।
प्रतिक्रिया दिनुहोस्