तिहारपछि घोषणापत्रसहित निर्वाचन क्षेत्र जाने कांग्रेसको तयारी

काठमाडौं, कार्तिक ४ ।  कांग्रेसले तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने र त्यसलगत्तै निर्वाचन क्षेत्र केन्द्रित हुने योजनासहित काम गरिरहेको छ

। महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र तयारी समितिले त्यसअनुसार मस्यौदालाई अन्तिम रूप दिने गरी कामलाई तीव्रता दिएको छ । समितिका अनुसार सकभर तिहारअघि सार्वजनिक गरेर लगत्तै नेताहरूलाई घोषणापत्रसहित निर्वाचन क्षेत्र पठाउने तयारी छ ।

तयारी समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियार घोषणापत्र निर्माणमा ढिलाइ भएको स्विकार्छन् । अन्य पार्टीका घोषणापत्र पनि आइनसकेको र कांग्रेसले जतिसक्दो छिटो घोषणापत्र तयार गरेर जनतामा जाने उनले जानकारी दिए । ‘तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने गरी तयारीलाई तीव्रता दिएका छौँ । समानान्तर रूपमा स्रोत–सामग्री संकलन र लेखनलाई अघि बढाएका छौँ । घोषणापत्र सार्वजनिक गर्नमा ढिलाइ भएको छ, तैपनि अन्य दलभन्दा पहिलो बन्ने प्रयासमा छौँ,’ उनले भने ।

स्वतन्त्र र साना दल घोषणापत्रसहित मैदानमा जाँदा सत्तारूढभित्रैका अन्य दलले पनि अझै घोषणापत्र सार्वजनिक गरेका छैनन् । जनतामा एजेन्डा लिएर जाने समय कम छ । २८ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आर्थिक विकास र सुशासनलाई प्राथमिकता दिँदै घोषणापत्र पारित गरेको थियो । बैठकले प्रारम्भिक मस्यौदामाथि आएका सुझाव समेट्ने गरी घोषणापत्र पारित गरेको थियो । यससँगै आएका सुझाव समेटेर घोषणापत्रलाई अन्तिम रूप दिइरहेको छ ।

प्रारम्भिक मस्यौदा उपसमिति संयोजक डा. स्वर्णिम वाग्लेका अनुसार घोषणापत्रमा आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राखिएको छ । घोषणपत्रमा तात्कालीन आर्थिक एजेन्डासहित समुन्नत नेपालको मार्गचित्र र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारको पाँचवर्षे रोडम्याप समेटिने उनको भनाइ छ । कांग्रेसले घोषणापत्रका लागि २२ भदौमा महामन्त्री शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्