सहकारीका कर्मचारीमाथि गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली पक्राउ

काठमाडौं, कार्तिक ३ । सर्लाहीको एक सहकारी संस्थाका कर्मचारीमाथि गोली हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली छन् ।

प्रहरीले भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको वैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसनकुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका–१ डिजे भनिने धिरेन्द्र सहनीलाई पक्राउ गरेको हो । घटना लगत्तै खोजतलासमा जुटेको प्रहरीले ४ जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमध्ये तीन जना भारतीय नागरिकहरु १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । उनीहरुमध्ये धिरेन्द्रको एउटा खुट्टामा गोली समेत लागेको छ । बुधबार बिहान ११ बजेर १५ मिनेटमा सर्लाहीको बाग्मती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली हानिएको थियो ।

कार्यालयमा काम गरिरहेको बेला अपरिचित तीन जना मानिसहरु आएर कार्कीलाई चार राउण्ड गोली हानेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको छ । कार्कीको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्