वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाए
काठमाडौं, कार्तिक १ । वाणिज्य बैंकहरुले आज (मंगलबार) देखि लागू हुने गरी कर्जाको ब्याजदर बढाएका छन् ।
बैंकहरुले निक्षेपको ब्याजदर पुरानै कायम राख्दै कर्जाको मात्रै ब्याजदर बढाएका हुन् । विभिन्न वाणिज्य बैंकहरुले आज प्रकाशित गरेका सूचना अनुसार अब पुराना ऋणीहरुले पनि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकहरुले निक्षेपको आधार दर बढेको भन्दै कर्जाको ब्याजदर बढाएका हुन् । अहिले वाणिज्य बैंकहरुको निक्षेपमा औसत आधारदर ९ दशमलव ९२ प्रतिशत रहेको छ ।
यो भन्दा कम आधारदर हुन बैंकहरुमा एभरेष्ट, स्टयान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, प्रभु बैंक र नबिल बैंक रहेका छन् । बाँकी बैंकहरुको आधारदर औसत भन्दामाथि रहेको छ । सबै भन्दा बढी सिभिल बैंकको आधार दर ११ दशमलव १५ प्रतिशत रहेको छ ।
बैंकहरुले कर्जा प्रवाह गर्दा आधार दरमा पाँचदेखि ७ प्रतिशतसम्म प्रिमियम लिने गर्दछन् । जस अनुसार सिभिल बैंकबाट कर्जा लिँदा अधिकतम १८ दशमलव १५ प्रतिशत ब्याज लाग्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा भने सबै भन्दा सस्तो पर्ने छ । सोही बैंकको आधार दर ७ दशमलव ८६ प्रतिशत रहेको र ५ प्रतिशत प्रिमियम जोड्दा कर्जाको अधिकतम ब्याजदर १२ दशमलव ८६ प्रतिशत हुनेछ ।
बैंकहरुले निक्षेपमा हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने भएपनि कर्जामा भने ३ महिनामा हेरफेर गर्न पाउँछन् ।
प्रतिक्रिया दिनुहोस्