पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व
काठमाडौं, असोज ३० । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र ग्यास) आयात गरेर १४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको हो।
सोही अवधिमा ६८ अर्ब ९६ करोड ८३ लाख ४३ हजार रुपैयाँ बराबरको ६ लाख ३२८ किलोलिटर इन्धन आयात भएको निगमले जनाएको छ । सो अवधिमा १ लाख ७४ हजार १ सय किलोलिटर पेट्रोल, २ लाख ६४ हजार ३६२ किलोलिटर डिजेल आयात भएको छ।
यस्तै, मट्टीतेल २ हजार ३८० किलोलिटर, हवाई इन्धन ३६ हजार किलोलिटर र ग्यास १ लाख १८ हजार २९५ मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ। बजारमा खपत बढेसँगै इन्धन आयात बढ्दै गएको निगमले बताएको छ।
साउनदेखि हालसम्म इन्धन आयात गरेर भन्सार शुल्कबापत ८ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको निगमले जनाएको हो। यस्तै, पूर्वाधार करबापत ४ अर्ब ३८ करोड ४६ लाख २० हजार रुपियाँ, सडक मर्मत दस्तुरबापत १ अर्ब २२ करोड र प्रदूषण करबापत ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। पेट्रोलियम पदार्थ आयात गरेबापत भन्सार बिन्दुमा कर संकलन हुने गर्छ ।
प्रतिलिटर पेट्रोलमा कुल राजस्व ६३ रुपैयाँ ३६ पैसा, डिजेलमा ४७ रुपैयाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपैयाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपैयाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपैयाँ संकलन हुने गर्छ। भन्सार बिन्दुमा संकलित राजस्व सरकारको खातामा जम्मा हुने गर्छ ।
भन्सार शुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपैयाँ २० पैसा, डिजेलमा १२ रुपैयाँ, मट्टीतेलमा १२ रुपैयाँ, हवाई इन्धनमा दुई रुपैयाँ १० पैसा र ग्यासमा ९१ रुपैयाँ ८२ पैसा संकलन हुने गर्छ। मूल्य अभिवृद्धि कर (भ्याट)बापत पेट्रोलमा २० रुपैयाँ ८२ पैसा, डिजेलमा १९ रुपैयाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपैयाँ ८६ पैसा र ग्यासमा २०१ रुपैयाँ संकलन हुने गर्छ ।
यस्तै, पूर्वाधार करबापत प्रतिलिटर डिजेल, पेट्रोलमा १० रुपैयाँ संकलन हुने गर्छ। सडक मर्मत दस्तुुरबापत पेट्रोल प्रतिलिटरमा ४ रुपैयाँ र डिजेल प्रतिलिटरमा २ रुपैयाँ संकलन हुने गर्छ। वातावरण शुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ ५० पैसा संकलन हुने गर्छ।
मूल्य स्थिरीकरण कोषमा पेट्रोल प्रतिलिटरमा १ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटरमा १ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डरमा १८ रुपैयाँ संकलन हुन्छ।
प्रतिक्रिया दिनुहोस्