संसदको बैठक आज बस्दै : यस्तो छ कार्यसूची

काठमाडौं  । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश दर्ता हुदैछन् ।

गृह मन्त्रालयले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश आज संसद्मा दर्ता गर्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । कानुन मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश गत शुक्रबारै संसद्मा दर्ता गराइसकेको छ  ।

बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रीले अध्यादेश पेस गरेपछि संसद्मा त्यसमाथि छलफल हुनेछ  । राष्ट्रियसभा सदस्य निर्वाचन र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश आजको सम्भावित कार्यसूचीमा पर्न सक्ने सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो ।

राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ  । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्