महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं, असोज ३ । काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश फाइनलमा भिड्ने भएका छन्। खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ।
काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपका नेपाल पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ। इतिहास हेर्ने हो भने यी दुवै टिमले महिला साफको उपाधि जित्न सकेका छैनन्।
यससँगै अब महिला साफले नयाँ विजेता पाउने पक्का भएको छ। पाँचौँ संस्करणसम्मका सबै खेलमा अपराजित रहेर भारतले उपाधि जितेको थियो। अहिलेसम्म भारतबाहेक कुनै देशले उपाधि जित्नसकेको छैन।
त्यसैले यो फाइनल जसले जिते पनि साफको नयाँ विजेता बन्नेछ। तर साफको इतिहास हेर्ने हो भने नेपाल बलियो देखिन्छ। यी दुई टिमबीच साफमा तीन पटक भेट हुँदा तिनै पटक नेपालले जित निकालेको छ।
सबै खेलहरुको कुरा गर्ने हो भने नेपालले बंगलादेसशँग आठ पटक खेलेको छ। जहाँ, नेपालले छ खेल जितेका छ भने दुई खेल बराबरी भएको छ। त्यसो त बंगलादेशले अहिलेसम्म नेपाललाई जितेको छैन।
यही तथ्यलाई नजिकबाट चिनेका नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा यो ट्रफी नेपालमै राख्न चाहन्छन्। उनी भन्छन्,‘दुई वर्षपछि नेपाल आएको ट्रफी हो। तर अब दुई वर्षका लागि हामी यो ट्रफी घरमै राख्न चाहान्छौं। हामी बंगलादेशको युवा जोसलाई हराएर उपाधि जित्न चाहान्छौं।’
प्रतिक्रिया दिनुहोस्