काँग्रेसले सोमबार मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने

काठमाडौं, असोज २ । सत्तारुढ दल नेपाली कांग्रेसले सोमबार मात्रै समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउने भएको छ।

समानुपातिक उम्मेदवारहरुको सिफारिस सूची सर्ट लिस्ट गरेर बुझाएपछि संसदीय दलको केन्द्रीय बैठक बस्ने बताइएको छ।

त्यसअघि प्रदेश कार्यसमितिबाट सिफारिस भएका नामहरुको सूची केन्द्रले फेरि प्रदेश कार्यसमितिलाइ फिर्ता पठाएको छ। सर्टलिस्ट तयार गर्नका लागि सातै प्रदेश कार्यसमितिलाई जिम्मा लगाइएको छ।

प्रदेश कार्यसमितिहरुले प्रदेश संसदीय बोर्डको बैठक डाकेर सर्ट लिस्ट तयार गर्दै आएको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले जानकारी दिए। बन्दसूची सच्याउने म्याद आयोगले आगामी असोज १६ गतेसम्म तोकेको छ।

प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बढीमा ११० जनासम्म बन्दसूचीमा नाम राख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्