काठमाडौं उपत्यकामा वर्षा, होसियारी अपनाउन सुझाव

काठमाडौं, भदौ २४ । केही बेरअघिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यकाभरि नै वर्षा भएको छैन।

विशेषगरी ललितपुरका जावलाखेल, गोदाबरी, भक्तपुर र काठमाडौंको विमानस्थल क्षेत्रमा वर्षा भइरहेको हो।

‘अहिलेसम्म यो मध्यम वर्षा हो’, उनले भनिन्, ‘तर पानी पार्ने प्रणाली विकास हुँदै गएको छ। होसियारी अपनाउन जरुरी छ।’

उनका अनुसार काठमाडौं उपत्यकामा केही समय वर्षा जारी रहने देखिएको छ। यसर्थ बाढी पस्ने तथा डुबान हुने क्षेत्रमा होसियारी अपनाउन जरुरी छ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागले आज  बिहान १० बजे जनाएअनुसार पछिल्लो ३ घण्टामा बाराको अमलेखगन्ज रआसपास तथा बारा, पर्सा, मकवानपुरको सीमा आसपास केही स्थानमा भारी वर्षा भएको छ।

थप वर्षा हुन सक्ने भएकाले पसाहा, दुधौराखोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्