२२% बोनस पारित गर्न नागरिक लगानी कोषले बैशाख ७ गते एजीएम डाक्यो

काठमाडौं ।  नागरिक लगानी कोष (CIT) ले आगामी बैशाख ७ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक बर्षको नाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नागरिक लगानी कोषले बैशाख ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजे सभा बोलाएको हो । कोषले २२ प्रतिशत बराबरको १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ बोनस तथा १.१५ प्रतिशत नगद बराबरको ८५ लाख ७१ हजार ४८८ रुपैयाँ लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

अन्य प्रस्तावहरुमा आव २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान प्रतिवेदन पारित गर्ने रहेको छ । साधारण सभाका लागि चैत २२ देखि सेयरधनी किताब बन्द गर्ने भएकाले चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

७४ करोड तीन लाख रुपैयाँ सेयर पूँजी रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्