रोजगार र पठनपाठनका लागि विदेश जानेलाई रोक्न सक्दैनौँः शिक्षामन्त्री

काठमाडौं, भदौ १७ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको बताएका छन्।

शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटी भइरहेको बताए।

सोही क्रममा शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने भन्दै उनले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए।

यस्तै उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने बताए। मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग मन्त्रालय छलफल गरीरहेको पनि बताए। उनले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

उनले भने, ‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दामाथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ। विदेशमा विद्यार्थी जाने लहर चलेको छ। सरकार शिक्षा मन्त्रालय गम्भीर छ। रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा। हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटी हो। अरु देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ। केही प्रक्रिया पूरा गर्नुपर्ने होला, जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने कुरा प्रतिबद्धता जनाउन चाहन्छु। शिक्षा बिना केही राम्रो हुँदैन। शिक्षाको सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ।

केही समय भित्रमा शंकरदेव क्याम्पस यही अवस्थामा नरहने गरी पूर्वाधारको विकास र शिक्षामा जोड दिने हेतुले प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्न चाहन्छु। विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ। समस्या छन् तर त्यसलाई समाधान गरौँ विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ।’

मन्त्री पौडेलले शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्