हेडक्वाटरले लुकायो ६ हजार प्रहरीको रेकर्ड : गृहको आशंका यस्तो छ

काठमाडौं० । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरीको दरबन्दी स्वीकृत छ ।

तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ ।सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन ।

स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँचहजार भन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नदेखिएको बताए ।

‘नेपाल प्रहरीमा करिब ७२ हजार प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तलब सुविधा पनि सोही अनुसार जान्छ । तर, निर्वाचनका बेला प्रहरीले आफूसँग ६७ हजार मात्रै रहेको रेकर्ड बुझायो ।

रेकर्ड र दरबन्दी विश्लेषण गर्दा पाँच हजारभन्दा बढी फरक देखिन्छ । तलब सुविधा खाने, तर भौतिक रेकर्ड नदेखिने ती प्रहरी कर्मचारी कहाँ छन्, हामीले खोजिरहेका छौं उनले भने ।

गृहले भौतिक रेकर्डमा नदेखिने तर सेवा–सुविधा लिने प्रहरी कर्मचारीको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न भन्दै मंगलबार नै नेपाल प्रहरीलाई पत्र काटेको छ । गृहप्रवक्ता सुवेदीले भने, ‘भौतिक रेकर्ड नभएका प्रहरी कर्मचारीको सम्पूर्ण तथ्यांक सात दिनभित्र पेस गर्न हामीले नेपाल प्रहरीलाई भनेका छौँ । पत्र मंगलबार नैै काटिएको छ । सात दिनभित्र सम्पूर्ण विवरण पेस गर्न भनेका छौँ ।’

गृहका अनुसार तलब सुविधा बुझ्ने तर भौतिक उपस्थित नदेखिने प्रहरी कर्मचारीमध्ये अधिकांश सिपाही र हवल्दार दर्जाका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्