आवास अनुदान : अर्थ मन्त्रालयले प्राधिकरणलाई दियो १० अर्ब

काठमाडौँ। अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई रु ९ अर्ब ९५ करोड प्रदान गरेको छ। प्राधिकरणले निजी आवास अनुदानका लागि प्राप्त गरेको सो रकम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई खर्च गर्न अख्तियारी प्रदान गरेको छ। घर निर्माण सुरु गरेका भूकम्पपीडितलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले सो अख्तियारी प्रदान गरेको हो।

सरकारले भूकम्पपछिको निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर प्राधिकरणमार्फत थप बजेटको अख्तियारी दिएको हो। प्राधिकरणका प्रवक्ता यमलाल भुसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लामा बजेट निकासाका लागि अख्तियारी दिइएको बताए।

सबै जिल्लामा निजी आवास निर्माण तीव्र गतिमा भइरहेकाले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई गति दिन प्रयास गरिरहेको उनले जानकारी दिए।

बिहीबार साँझसम्मको तथ्यांकअनुसार ३ लाख ६७ हजार १६५ घर पुनर्निर्माण भइरहेका छन्। त्यस्तै, तीन लाख ११ हजार ७०३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन्। उनीहरुले आफ्नो सुविधाअनुसार तोकिएको बैंकबाट दोस्रो किस्ता बापतको रु एक लाख ५० हजार लिन सक्ने बताइएको छ।

तेस्रो किस्ताका लागि ८२ हजार ५८८ लाभग्राही प्रमाणीकरण भइसकेका छन्। तेस्रो किस्ताबापत लाभग्राहीले रु एक लाख प्राप्त गर्नेछन्।

प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्तसम्मलाई तोकी घर पुनर्निर्माण शुरु गर्न बाँकी रहेको लाभग्राहीलाई यही अवधिभित्र घरको जग राखी दोस्रो किस्ताका लागि निवदेन दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्