कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्‍चालन गर्ने

काठमाडौं, भदौ ४  ।सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्‍चालन गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेसको १४ दिने अभियानका विषयमा जानकारी गराएका हुन्।

कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्‍ने प्रवक्ता डा. महतले बताए। उनका अनुसार आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम दिइनेछ।

प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन्। त्यसैगरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ।

यस अभियानलाई कांग्रेसले चुनावी अभियानका रुपमा अघि बढाउँदैछ। यस अभियानमा कांग्रेसले बढीभन्दा बढी मानिसहरुलाई सहभागी गराउने भएको छ। जस अनुसार जिल्ला समितिसहित सबै तहका समितिहरुले बैठक बोलाएर सबै तहमा जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई समेटेर छलफल अन्तरक्रिया गरिने पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्