इन्धनको मूल्य घट्दैनः आयल निगम

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आए पनि नेपालमा भने नघट्ने भएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको बताएको छ ।

भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसनले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

यो सँगै भारतबाट लगातार तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ । तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य भने घटाएको छैन ।

यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

मुल्य घटेर आएसँगै अहिले निगम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको निगमले जानकारी दिएको छ । भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आए पनि निगमले नघटाउदा जनतामा भने महंगीको मारमा नै पर्ने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्