केयुकेएलका सिनियर प्लम्बर पाँच हजार रुपैयाँ घुससहित पक्राउ
काठमाडौं, साउन ३१ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् ।
खुलाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको पाँच हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको हो । उनी काठमाडौं महानगरपालिका– ६ महाकाँलचौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयबाटै पक्राउ परेका हुन् ।
अख्तियारका अनुसार आवश्यक प्रक्रिया पूरा गरिसक्दा पनि धारा जडान गर्न आनाकानी गरी पाँच–६ हजार रुपैयाँ दिए मात्र जडान गरिदिने भन्दै घुस मागेको सूचना सेवाग्राहीले दिएका थिए । सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
झापाको गौरीगन्ज गाउँपालिका– ५ ठेकीटोल स्थायी घर भएका ५० वर्षीय खुलाल हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ११ कपनटार बस्दै आएका छन् ।
खुलालले ०५९ भदौ १ गते सिनियर प्लम्बरका रूपमा सेवा सुरु गरेका थिए । सेवा प्रवेश गरेको २० वर्ष हुन एक दिनअघि खुलाल पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्