नेता के.सी.द्वारा दौड प्रतियोगिताको शुभारम्भ (फोटोफिचर सहित)

काठमाडौं, २८ साउन (रासस) : नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लवले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको दौड प्रतियोगिताको शुभारम्भ गर्दै नेता केसीले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील क्लवले गरेका कार्यको सरहाना गर्दै नेता केसीले देशविकासको अभियानमा युवा वर्गमा रहेका सिप, क्षमता उपयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले अन्तर्राष्ट्रिय युवा दिवसले समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहनकुमार बस्नेतले सरकारको व्यवस्थापकीय कमजोरीले शिक्षित युवाले समेत आफ्नो योग्यता र क्षमता अनुसारको काम र रोजगारी नपाई विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।
क्लवका पूर्व अध्यक्षत्रय नकुल हमाल ठकुरी, बालकृष्ण मैनाली र जगन्नाथ अर्याल तथा समाजसेवी कल्पना थापालगायतले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिताको खाँचो औँल्याउनुभयो । क्लवका सचिव मनोज राजभण्डारीले क्लवले युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी गराउनुभयो ।

क्लवका अध्यक्ष रामकुमार बस्नेतले युवा वर्गलाई जीवनोपयोगी सीप र कौशलको विकास गरी उनीहरुको जीविकोपार्जन हुन सकेमा मात्र देश विकासमा सहयोग पुग्ने बताउनुभयो ।

पुरुषतर्फ पाँच किलोमिटरको दौड प्रतियोगितामा दीपसन ठकुरी, माइकल गरभुजा र शीशीर बस्नेत क्रमशः पहिलो भई नगद रु १० हजार, दास्रो रु सात हजार र तेस्रोले पाँच हजार सहित पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर सिवानी विष्ट, पूजा विक र इशा मोरले क्रमशः रु सातहजार, पाँच हजार र तीन हजार प्राप्त गर्नुभयो ।
दौडका सहभागी विशाल थापाले यस किसिमको प्रतियोगिताले युवा सशक्तिकरणमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

-कृष्णराज गौतम

प्रतिक्रिया दिनुहोस्