७४ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न तीन पक्राउ, २६ लाखको चेक पनि बरामद

काठमाडौं, साउन २४ । ७४ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारमा संलग्न एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भइ हाल जोरपाटी बस्ने वर्ष २० को रामहरी दुलाल र रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भइ हाल चाबहिल बस्ने वर्ष २४ को सुदिप आचार्य रहेका छन्।

भारत राजस्थान शिखर जिल्ला देवथला घर भइ हाल अनामनगर बस्ने वर्ष ६४ को राजु अग्रवाल तथा निजका सहयोगी कर्मचारी समेतलाई स्रोत नखुलेको ५०० र १००० दरका नेपाली रुपैयाँ ७४ लाख रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका रु २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको चेक थान ९ बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंको नरदेवी एरियामा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्