गृहमन्त्री थापाद्वारा विमानस्थलको आकस्मिक निरीक्षण : अध्यागमनका ३२ अधिकृत सरुवा

काठमाडौँ  । गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए ।

तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन् ।

एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत छन् । चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पदभार ग्रहण गर्ने अघिल्लो दिन हठात गरिएको अधिकृतहरूको सरुवापछि अब अध्यागमन ७२ अधिकृतको भरमा चल्नुपर्ने भएको छ ।

स्रोतका अनुसार गृहसँग सामान्य सहमति लिने परम्परालाई लत्याउँदै मन्त्रीले पदभार गर्ने अघिल्लो दिन हतार–हतारमा गरिएको सरुवाले केही प्रश्नहरू उब्जाइदिएको छ ।

स्रोतका अनुसार अध्यागमनका केही अधिकृतहरूले मानव तस्करसँग मिलेर ‘सेटिङ’मा मान्छे पठाउने गरेको भन्दै अध्यागमन विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला एक्कासि ठूलो संख्यामा अधिकृतको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्