सिभिल बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य नाफा १०१ प्रतिशतले बढ्यो

काठमाडौं, साउन २२ ।  हिमालयन बैंकसँग गाभिने सम्झौता गरिसकेको सिभिल बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म आफ्ना वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गएको वर्षको चौथो त्रैमाससम्ममा बैंकले वितरणयोग्य मुनाफा, खुद नाफा, सञ्चालन नाफा, जगेडा कोष र खुद ब्याज आम्दानीजस्ता महत्त्वपूर्ण वित्तीय सूचकहरूमा उलेख्य सुधार गरेको जनाइएको छ ।

बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा १६२ प्रतिशतले वृद्धि गरेको छ । यो बैंकले अघिल्लो वर्ष ५२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकामा गएको आर्थिक वर्षमा एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

यस्तै, बैंकको वितणयोग्य मुनाफा पनि एक अर्बभन्दा बढी पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँ रहेकामा गएको वर्षको अन्त्यसम्म यस्तो मुनाफा एक अर्ब ६३ लाख पुगेको छ । यो मुनाफा एक वर्षको अन्तरालमा १०१ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

civil bank (1)1659860414.png

बैंकको कर्जा लगानी र निक्षेप संकलनमा भने उल्लेख्य वृद्धि हुन नसकेको वित्तीय विवरणमा देखिन्छ । एक वर्षको अन्तरालमा बैंकले कर्जा लगानीमा ५.५७ प्रतिशतले वृद्धि गरेको छ । निक्षेप संकलन पनि ६.६१ प्रतिशतले वृद्धि गरेको छ । गएको आवको असार मसान्तसम्म यो बैंकले ८३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ९४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यसैगरी, खुद ब्याज आम्दानी ६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको अन्त्यसम्म यो बैंकले ब्याजबापत दुई अर्ब २१ करोड रुपैयाँ खुद आम्दानी गरेकामा गएको वर्ष यस्तो आम्दानी तीन अर्ब ६४ करोड रुपैयाँ भएको हो ।

चुक्ता पुँजी पाँच प्रतिशतले बढ्यो

बैंकले गएको वर्ष सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । अघिल्लो वर्ष कायम चुक्ता पुँजीबाट सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर दिएर कम्पनीले चुक्ता पुँजी आठ अर्ब ६४ करोडबाट वृद्धि गरेर नौ अर्ब सात करोड रुपैयाँ कायम गरेको छ ।

यस्तै, जगेडा कोषमा भएको रकम पनि साढे २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको अन्त्यसम्म यो कोषमा एक अर्ब ५५ करोड रुपैयाँ रहेकामा गएको आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

गएको आवको असार मसान्तसम्म बैकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात १३.९६ गुणा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्