कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं, साउन १९ ।  खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको नाफा गत आवको तुलनामा २३.७४ प्रतिशतले घटेको हो । गत आवमा खुद ब्याज आम्दानी १३.३० प्रतिशतले वृद्धि भएर ७ अर्ब ७७ करोड ७७ लाख पुगेको छ ।

कर्जा लगानी १८.५४ प्रतिशतले विस्तार गरेर १ खर्ब ७८ अर्ब ५१ करोड ४८ लाख पुर्‍याएको बैंकले निक्षेप २.२६ प्रतिशतले वृद्धि गरी १ खर्ब ६६ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुर्‍याएको छ । कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको हो ।

तर, अघिल्लो आवमा ९९ करोड ४३ लाख खुद ट्रेडिङ आम्दानी गत आवमा २६ करोड २५ लाखले नोक्सानीमा रहेको छ । जसले गर्दा बैंकको खुद सञ्चालन आम्दानी नै घटेको छ । अघिल्लो आवमा ९ अर्ब ७५ करोड ७१ लाख रहेको बैंकको खुद सञ्चालन आम्दानी गत आवमा ८ अर्ब ८५ करोड ६७ लाखमा झरेको छ । जसले गर्दा बैंकको सञ्चालन नाफा नै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्