बैंक तथा फाइनान्सका लागि लाभांश दिन पाउने सीमा हट्यो

काठमाडौं, साउन १८ ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई नगद लाभांश वितरणमा लगाएको अंकुश हटाएको छ । राष्ट्र बैंकले बुधबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै पहिले व्यवस्था गरिएको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था हटाइएको जानकारी दिएको हो ।

यसअघि उक्त निर्देशिकामा २०७७/०७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिएको थियो । त्यस्तै, यस्तो नगद लाभांश संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने पनि व्यवस्था गरिएको थियो ।

त्यसैगरी, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले कर प्रयोजका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो । अब यो व्यवस्था हटेको छ । यो व्यवस्था हटेसँगै अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले आफ्नो क्षमता अनुसार नगद लाभांश घोषणा गर्न र सेयरधनीलाई वितरण गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्