प्रतिबन्धित लागूऔषधसहित उपत्यकाबाट २२ जना पक्राउ

काठमाडौँ , साउन १८ । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्‍यो भने उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ छ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो ।

खड्कालाई लागूऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भई गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बम्जन र खड्कालाई लागूऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भई इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागूऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोले यही साउन १३ गते ३८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका–९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४५९ ग्राम हेरोइन, ‘डायलेक्स डिसी’ एक हजार १८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान र प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरिएको छ ।

बरामद गरिएको लागूऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ । यसरी अवैध लागूऔषधमा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ्दो देखिन्छ । यसअघि साउन १ गते चार किलो अवैध लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङीलाई प्रहरीले तिलगंगाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्