चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं , असार २८ ।  मनसुनी वायुको कारण आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक होशियारी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्