श्रीलंकाका राष्ट्रपतिको भवनमा करोडौं रुपैयाँ नगद भेटियो! गने प्रदर्शनकारीले नोट

काठमाडौं, असार २६ । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ ।

आर्थिक मन्दी चर्किएपछि सत्ताबिरुद्ध व्यापक प्रदर्शन भइरहेको । प्रदर्शनकारीले शनिबार राष्ट्रपति भवन कब्जा गरेका थिए । राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राष्ट्रपति भवन छोडेर भागेका थिए ।प्रदर्शनकारीले प्रधानमन्त्री रणिलविक्रमा सिंधेको सरकारी निवासमा समेत आगजनी गरेका थिए ।

यसैबीच, प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरुले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै देखिएका छन् । श्रीलंकाली संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । यसैबीच अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै बस्तु स्थितिथबारे भन्न सकिने बताएका छन् ।

शनिबार हजारौं प्रदर्शनकारी ब्यारिकेड तोडेर राजधानी कोलम्बोको उच्च सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए । ठूलो संख्यामा मानिस राष्ट्रपति निवासमा प्रवेश गरी तोडफोड गरेका थिए । सो क्रममा राष्ट्रपतिको शयनकक्षदेखि लिएर भान्छाघर र बाथरुमसम्म प्रदर्शनकारीले कब्जा जमाएका थिए । प्रदर्शनकारीहरूमध्ये केहीले राष्ट्रपति निवासको स्विमिङ पुलमा नुहाएको तस्बीर भाइरल भएको थियो । उल्लेखनीय कुरा के छ भने २ करोड ५० लाख जनसंख्या भएको श्रीलंका अहिले सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ ।

मुलुकमा विदेशी मुद्राको अभाव हुँदा इन्धनलगायत अत्यावश्यक वस्तुको आयात हुन सकेको छैन । सरकारविरुद्ध जनता सडकमा उत्रिएका छन् । सरकारको गलत नीतिका कारण आर्थिक संकट आइलागेको श्रीलंकाली जनताको भनाई छ । आर्थिक संकट झन गहिरिन थालेपछि देशभरबाट नागरिकहरु राजधानी कोलम्बोमा भेला भएका छन् । यसैबीच राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी दिएको श्रीलंकाका संचार माध्यमले जनाएका छन् ।

अब श्रीलंकामा के हुन्छ ?

श्रीलंकामा शनिबारको उथलपुथलपछि राष्ट्रपति गोटाबय राजापक्षे र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनामा दिने घोषणा गरेसँगै अब श्रीलंकामा सरकारको अवस्था के हुन्छ भन्ने सबैमा चासो बढेको छ ।

रिपोर्टहरूकाअनुसार आज साँसम्म त्यहाँका विपक्षी राजनीतिक दलहरूले नयाँ सरकार बनाउन सहमति जुटाउन बैठक बस्दै छन् । राष्ट्रको आर्थिक संकटको क्रोधमा शनिबार प्रदर्शनकारीहरूले प्रधानमन्त्री विक्रमासिङ्घेको निजी निवासमा आगो लगाएका थिए भने राष्ट्रपति राजापक्षेको भवन कब्जा गरेका थिए ।

त्यतिबेला राष्ट्रपति राजापक्षे त्यहाँ थिए वा थिएनन् भन्ने स्पष्ट नभएको सरकारका प्रवक्ता मोहन समरानायकेलेले बताएका छन् । उनले राष्ट्रपतिको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको पनि स्पष्ट पारेका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नदिएसम्म उनीहरूको आधिकारिक निवास, कार्यालय र सरकारी निवासमा आक्रमण गर्ने र परिसरमा नै बस्ने बताएका छन् । सुरक्षा प्रमुख शभेन्द्र सिल्वाले जनताको समर्थनको आह्वान गर्दै कानुन र व्यवस्था कायम राख्न सहर वरिपरि सैनिकहरू तैनाथ गरेका छन् ।

विपक्षी सांसद एम.ए. सुमन्थिरनले सबै विपक्षी दलहरूले संयुक्त रूपमा संसदमा बहुमत देखाउन आवश्यक ११३ सदस्यहरू सजिलै जम्मा गरी सरकार बनाउन सक्ने बताएका छन् । जसमा उनीहरूले राजापक्षेलाई नयाँ सरकार स्थापना गर्न र त्यसपछि राजीनामा गर्न अनुरोध गर्ने योजना छ । दलहरू आजै सहमतिमा पुग्ने आशा गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री विक्रमासिङ्घेले नयाँ सरकार बनेपछि आफूले पद छाड्ने बताएका छन् भने संसदका सभामुखले राजापक्षेले बुधबार राजीनामा दिने जानकारी दिएका छन् । आर्थिक मन्दीले अत्यावश्यक वस्तुहरूको चरम अभाव सिर्जना गर्दा मानिसहरूलाई खाद्यान्न, इन्धन र अन्य आवश्यकताहरू प्राप्त गर्न संघर्ष गर्नुपरेकोले सरकारलाई दबाब बढेको थियो ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिएमा संविधानबमोजिम सभामुख महिन्दा यापा आबेवर्देनाले अस्थायी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

राजापक्षेले मे महिनामा अभाव समाधान गर्न र आर्थिक पुनरुत्थान गर्न विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । जसको कारणले गर्दा विक्रमासिङ्घे अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग जमानत रकम कार्यक्रम तथा विश्व खाद्य कार्यक्रमसँग खाद्य संकटको सामना गर्न महत्वपूर्ण वार्ताको हिस्सा थिए । सरकारले सम्झौतामा पुग्नुअघि अगस्टमा आईएमएफमा ऋणको लागि योजना पेस गर्नुपर्नेछ ।

विश्लेषकहरू विक्रमासिङ्घेले जसरी देशको मुद्दा सम्बोधन गरेका छन् त्यसरी धेरै नयाँ नेताले गर्न सक्नेमा शंका व्यक्त गर्छन् । उनकै सरकारको प्रयासले अर्को सिजनको खेतीका लागि अति आवश्यक मल र आइतबार देशमा खाना पकाउने ग्यास अर्डरको पहिलो खेप आजै आइपुगेको छ । स्रोत : एपी

 

प्रतिक्रिया दिनुहोस्