अर्थमन्त्री शर्माको प्रश्नः के कारणले म अनैतिक भएँ?
काठमाडौं, असार २२ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए।
विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए। उनले छानविन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए।
अर्थमन्त्री जनार्दन शर्माले आफूप्रति राजनीतिक पूर्वाग्रह साँधिएको बताए। अर्थमन्त्रीले भने, ‘सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो। यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो। यो राजनीतिक प्रतिशोध हो।’ उनले बजेट निर्माणमा स्थापीत मान्यता अनुसार तोकिएका व्यक्तिबाट मात्र संलग्न गराएको दाबी गरे।
उनले आफूविरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरे। अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए।
उनिमाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप र उक्त व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज ‘डिलिट’ गराइएको पनि आरोप लागेको छ।
प्रतिक्रिया दिनुहोस्