विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला, सवारी दुर्घटना- दुई जनाको मृत्यु

काठमाडौं । ललितपुर, सोलुखुम्बु, पाल्पा र सिन्धुलीमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनको स्थायी ठेगाना खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ राखाबाङदेल भएको प्रहरीले जनाएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेकी महिलाको शव आइतबार फेला परेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लो बजारस्थित सुनकोशी नदीको किनारमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ

यता  बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।   बर्दियाको गुलरीया नगरपालिका–८ भन्सार चोकस्थित सडकमा गुलरीया नगरपालिका १६ नम्बरको टाँगाले ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साईकलयात्री गुलरीया नगरपालिका–८ सुरजपुर बस्ने ७० वर्षीय वीर बहादुर सुनार रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया हुँदै नेपालगंज नर्सीङहोममा थप उपचारको क्रममा मृत्यु भएको हो । टाँगा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकस्थित सडकमा लु.७९ प ५४९१ नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने ५० वर्षीय तुलसी पाठक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्