एमालेकाे विराेधका बिच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित ३ वटा विधेयक पारित

काठमाडौं, असार १७ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको बहिष्कारका बिच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित विभिन्न तीनवटा विधेयकलाई पारित गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयकलाई मूल रूपमा नै सुझाव दिन पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

बैठकमा अर्थमन्त्रीले उक्त विधेयक पेस गर्दा एमालेका सांसदहरूले विरोध जनाएका थिए । एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

एमाले सांसद भैरव सुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्‍याएर मुलुकलाई हानी पुर्‍याएकाले त्यसको निष्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए ।

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरूको माग रहेको र एमाले संसदीय दलको बैठकले उक्त माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए ।

त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए ।

एमालेको बहिष्कारका बिच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्